काठमाडौं। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि डिफेन्डर सनीश श्रेष्ठ र मिडफिल्डर आदित्य शाक्यलाई रिटेन गरेको छ।
ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक अलोकजंग जोशीले शुक्रबार यी दुई खेलाडीलाई रिटेन गरिएको जानकारी दिएका हुन्। गत सिजन ललितपुरलाई च्याम्पियन बनाउन यी दुई खेलाडीले उच्च प्रदर्शन गरेका थिए।
नेपाल राष्ट्रिय टोलीकासमेत डिफेन्डर रहेका सनीश श्रेष्ठलाई ‘ए’ क्याटोगोरी र प्रतिभाशाली मिडफिल्डर आदित्यलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरिएको हो।
ललितपुरका प्रबन्ध निर्देशक जोशी भन्छन्, ‘सनीश र आदित्य हाम्रो टोलीका महत्त्वपूर्ण सदस्य हुन। उनीहरूलाई पुनः क्लबमा कायम राख्न पाउँदा अत्यन्तै उत्साहित छौं। उनीहरूको योगदान गत सिजनमा अतुलनीय थियो र यस वर्ष उनीहरूले हाम्रो सफलतामा अझ ठूलो भूमिका खेल्नेछन्।’
गत संस्करण ललितपुरलाई च्याम्पियन बन्दा फाइनलमा आदित्य म्यान अफ द म्याच भएका थिए। उक्त खेलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले पराजित गरेको थियो।