काठमाडौं। महिला फुटबलले आफ्नो पहिलो एक मिलियन डलर मूल्यको खेलाडी पाएको छ। उक्त कीर्तिमानी मूल्यमा अमेरिकाकी डिफेन्डर नाओमी गिर्मा आइतबार सान डिएगो वेभबाट इङ्लिस प्रिमियर लिग क्लब चेल्सी सरेकी हुन्।
चेल्सीले गिर्मालाई अनुबन्ध गरेको घोषणा गरे पनि शुल्क खुलाएको थिएन। तर, द एथलेटिक र बिबिसीका रिपोर्ट अनुसार चेल्सीले उनलाई अनुबन्ध गर्न १.१ मिलियन डलर खर्च गरेको छ।
योसँगै रेचेल कुन्दानान्जीको कीर्तिमानी भंग भएको छ। गत वर्ष बे एफसीले जाम्बियाकी स्ट्राइकर रेचेल कुन्दानान्जीलाई मड्रिड सिएफएफबाट अनुबन्ध गर्दा सात लाख ८८ हजार डलर खर्च गरेको थियो। चेल्सीले तेस्रोपटक विश्व कीर्तिमानी शुल्कमा खेलाडी अनुबन्ध गरेको हो। यसअघि सन् २०२० मा डेनमार्ककी फरवार्ड पर्निले हार्डर (तीन लाख ५५ हजार डलर) र गत वर्ष कोलम्बियाकी फरवार्ड मायरा रामिरेज (पाँच लाख ४२ हजार डलर) लाई अनुबन्ध गरेको थियो।
२४ वर्षीया गिर्मा सन् २०२६ सम्म सान डिएगो वेभसँगको सम्झौतामा थिइन्। उनलाई फ्रेन्च क्लब लियोन र महिला सुपर लिगमा चेल्सीको प्रतिद्वन्द्वी आर्सनलले पनि भित्र्याउने रुचि देखाएका थिए।
गिर्मालाई आइतबार चेल्सीका समर्थकहरूसमक्ष स्टाम्फोर्ड ब्रिजमा आर्सनलविरुद्धको खेलअघि प्रस्तुत गरिएको थियो। ‘म निकै खुसी छु र यहाँ आउँदा उत्साहित भएकी छु। यो वास्तविक जस्तो लाग्दैन,’ गिर्माले भनिन्।
उनले थपिन्, ‘चेल्सीका धेरै कुराले मलाई यहाँ आउन प्रेरित गर्यो. यहाँको संस्कृति, जित्ने मानसिकता, स्टाफ र खेलाडीहरू। सिक्न र आफूलाई निखार्नका लागि उत्कृष्ट वातावरण यहाँ छ। यो मेरो लागि सजिलो निर्णय थियो।’
गिर्माले सन् २०२२ अमेरिकाको राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। उनले अमेरिकाका लागि ४४ खेल खेलिसकेकी छन्र पेरिस ओलम्पिक्समा स्वर्ण पदक जित्दा उनी टोलीको महत्त्वपूर्ण खेलाडी थिइन्।
सन् २०२३ मा अमेरिकन फुटबल महिला खेलाडी वर्षको पुरस्कार उनलाई प्रदान गरिएको थियो। उनले २०२० मा फेडेरेसनको युवा खेलाडी वर्षको पुरस्कार पनि जितेकी थिइन्। ओलम्पिक्सको समयमा चेल्सीका पूर्वप्रशिक्षक एम्मा हेयेसले गिर्मालाई ‘मैले देखेको उत्कृष्ट डिफेन्डर’ भन्दै प्रशंसा गरेका थिए।
गिर्मा स्ट्यानफोर्ड विश्वविद्यालयको टिमकी कप्तान थिइन्, जसले २०१९ मा राष्ट्रिय च्याम्पियनसिप जित्यो। उनलाई २०२२ को नेसनल वुमेन्स सकर लिग ड्राफ्टमा पहिलो स्थानमा सान डिएगो वेभले रोजेको थियो। उनले आफ्नो पहिलो सिजनमै लिगको वर्षको नयाँ खेलाडी र डिफेन्डर अफ द इयरको उपाधि जितेकी थिइन्।