नेपाल खो–खो विश्वकपको क्वार्टरफाइनलनजिक

काठमाडौं। ब्राजिलमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोलीले प्रथम खो–खो विश्वकपमा लगातार दोस्रो जित निकालेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको तेस्रो खेलमा नेपालले बुधबार ब्राजिलमाथि १३४–८ को जित हासिल गरेको हो।
योसँगै समूह ‘ए’ मा नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ। नेपाल तीन खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। भारतको पनि समान चार अंक छ। भुटानले दुई अंक जोड्दा पेरु र ब्राजिल अंकविहीन छन्। नेपालले समूहचरणको अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ।
प्रतियोगिताको पहिलो खेलमा भारतसँग नेपाल ४२–३७ को झिनो अन्तरमा पराजित भएको थियो। तर, दोस्रो खेलमा पेरुमाथि ८०–३४ को सानदार जित हासिल गर्दै नेपालले पुनरागमन गरेको थियो। उक्त लय नेपालले कायम राखेको छ।
पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ। पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन्।
महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ। महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।