जनकपुरको गैरजिम्मेवार ब्याटिङ !

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा अघिल्ला चार खेलमा लगातार जित हासिल गर्दै सनसनी मच्चाएको जनकपुर बोल्ड्सलाई बुधबार सुदूरपश्चिम रोयल्समाथि जित हासिल गर्दै दुई खेलअगाबै प्लेअफमा स्थान बनाउने मौका थियो। तर, योजनाअनुसार नै टस जितेर पहिला बलिङ थालेको जनकपुरले किशोर महतोको सानदार प्रदर्शनसँगै सुदूरपश्चिमलाई १२३ रनमै समेटे पनि जित निकाल्न सकेन। यसमा सबैभन्दा खराब प्रदर्शन ब्याटिङ युनिटकै रह्यो। कप्तान अनिलकुमार साह पनि यो कुरालाई नकार्न सक्दैनन्।
उनी भन्छन्, ‘जुन हिसाबले सुरु गरेको थियौं, त्यसले यो रन चेज गर्न सकिन्थ्यो। तर, जिम्मेवार भएर ब्याटिङ गर्न सकेनौं। सट सेलेक्सन राम्रो हुन सकेन र सिधा सिधा बलमा हामी आउट हुन पुग्यौं। यसले पहिलो हार बेहोर्न पर्यो।’
जनकपुरका जोशुआ ट्रम्पबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। उनले पनि १३ रन बटुल्न १३ बलमा एक चौका र एक छक्का प्रहार गरेका हुन्। अन्य ओपनर आसिफ शेख, लाहिरू मिलान्था, शुभ कांन्साकार, अरनिको यादव, शेर मल्ल र ललितनारायण राजवंशी क्याच आउट भए।
अनिल र जिमी निसम बोल्ड हुँदा ट्रम्प एलबिडब्यु र हर्ष ठाकर रन आउट भए। यी तीनबाहेक अन्यको गौरजिम्मेवार ब्याटिङ देखिएको थियो। जनकपुरलाई सस्तैमा समेट्न स्पिनर हर्मीत सिंह, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान दुई विकेट लिए। सैफ जैब, नरेन साउद र स्कट कुग्गेलिजनले समान एक विकेट आफ्नो खातामा लेखाए। एनपिएलको कुरा गर्ने हो भने यो कुनै पनि टोलीले बनाएको सबैभन्दा कम स्कोर हो।
यसअघि चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले मात्रै ७४ रन बनाएको थियो। उक्त कीर्तिमान जनकपुरले तोड्यो। ‘सुरुमा टप अर्डर राम्रै चलिरहेको थियो। अस्ति एक खेलमा मात्रै चलेन। त्यसैले हाम्रो मिडिल अर्डर एक्सपोज हुन पाएको थिएन। हार्न त आएको होइन, तर प्लेअफ पुग्नुअघि एक्सपेरिमेन्ट राम्रो भयो,’ उनले भने।
जनकपुरले सुदूरपश्चिमविरुद्ध तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर मोहम्मद मोहसिनलाई आराम दिएको थियो। हेमन्तको स्थानमा अरनिको यादव र मोहसिनको स्थानमा ट्रम्प आए पनि केही चमत्कार देखाउन सकेनन्। अब जनकपुरले काठमाडौं गुर्खाज र चितवन राइनोजविरुद्ध खेल्न बाँकी छ। यी दुईमध्ये एक मात्रै खेल जिते जनकपुर प्लेअफमा पुग्नेछ। त्यसैले अबका खेलमा ‘सेफ साइड’ मा बसेर मात्रै जनकपुरले ‘एक्सपेरिमेन्ट’ गर्ने अनिल बताउँछन्।





-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)




