काठमाडौं। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतको अन्तिम साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
यसअघि कर्णाली प्रदेशमा हुने भनिएको प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो। तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो। बोर्ड बैठकको नयाँ निर्णयसँगै प्रतियोगिता हुने बाटो खुलेको छ।
सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो। यसका लागि प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ।