१६ वर्षपछि शिखर–तन्वीर भिड्दै

काठमाडौं। १६ वर्षपछि क्रिकेटका चर्चित नाम शिखर धवन र सोहेल तन्वीर एकअर्काविरुद्ध उत्रने भएका छन्। सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो उत्कृष्ट प्रदर्शनले दर्शकलाई मोहित बनाएका यी दुई दिग्गज खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिद्वन्द्वी बन्न लागेका हुन्।
धवन कर्णाली याक्सबाट र तन्वीर चितवन राइनोजबाट मैदान उत्रिँदै छन्। यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। पाकिस्तानका अनुभवी बाँया हाते बलर तन्वीर आफ्नो अनौठो बलिङ शैली र आक्रामक खेल कौशलका कारण चर्चित छन्।
पहिलो संस्करणको आइपिएलमा राजस्थान रोयल्सलाई च्याम्पियन बनाउन उनले सर्वाधिक २२ विकेट लिएर पर्पल क्याप जितेका थिए। त्यस क्रममा उनले अस्ट्रेलियन पूर्वलेग स्पिनर तथा लेजेन्ड शेन वार्न (१९) र अस्ट्रेलियाकै पेसर शेन वाट्सन (१७)लाई समेत पछि पारेका थिए। चार सयभन्दा बढी टी–ट्वान्टी खेल खेलेसिकेको अनुभवसँगै निखारिएको कौशलका ३९ वर्षीय तन्वीरले चितवनलाई पनि अहिले राजस्थानको जस्तै पथमा डोर्याइरहेका छन्।
२३ वर्षको हुँदा झैं चमत्कारी प्रदर्शन गरिरहेका उनले काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकाल्ने क्रममा सर्वाधिक पाँच विकेट नै लिएका थिए। एनपिएलमा एकै इनिङ्समा पाँच विकेट लिने उनी पहिलो खेलाडी बन्दै कीर्तिमानसम्म राख्न भ्याए। ‘प्लेअर अफ द म्याच’ बनेका उनले चार ओभर बलिङ गरेर मात्रै २१ रन खर्चिए।
अझ एनपिएलकै महंगो टोली पोखरा एभेन्जर्सलाई अहिलेसम्मकै कम स्कोरमा (७४ रन) रोक्ने क्रममा पुनः उनले आफ्नो उत्कृष्ट बलिङ फिगर देखाए। ह्याट्रिक विकेट लिन चुकेका उनले तीन ओभरमा एक मेडनसहित ६ रन खर्चिएर तीन विकेट लिए। दुई खेल मात्रै खेलेका उनी सर्वाधिक विकेटकर्ताको शीर्ष स्थानमा छन्। उनले दुई खेलबाटै आठ विकेट लिइसकेका छन्। उनलाई तीन खेल खेलेका जनकपुर बोल्ड्सका स्पिनर ललितनारायण राजवंशी (सात) र एक खेल मात्रै खेलेका सुदूरपश्चिम रोयल्सका स्पिनर नरेन साउद (पाँच) ले पछ्याइरहेका छन्।
अर्कोतर्फ भारतका धवन पनि पहिलो संस्करण आइपिएलमा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) लाई सेमिफाइनलसम्म पुर्याउन मुख्य भूमिकामा थिए। १४ इनिङ्समा चार अर्धशतकसहित ३४० रन बनाएका थिए। राजस्थानविरुद्धको पहिलो खेलमै उनले ४१ बलमा आठ चौकासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ्स खेलेका थिए। यो नै उनको आइपिएलमा पहिलो अर्धशतक थियो।
अर्कोपल्टको भेटमा भने धवन तीन रनमै रन आउट भए। तर, यी दुवै खेलमा धवन र तन्वीर आमुन्नेसामुन्ने हुन भने पाएका थिएनन्। यो खेलमा धवनले मौका पाइरहँदा तन्वीर भने टोलीमा अटाउन सकेका थिएनन्। तन्वीर झैं उमेरले चार दशकमा टेक्न लागेका धवनलाई कर्णालीले चार खेलका लागि मात्रै नेपाल ल्याएको हो। तर, पहिलो खेलमा भने उनले २३ वर्षअघिको जस्तो चमत्कारी प्रदर्शन देखाउन सकेनन्।
जनकपुर बोल्ड्सविरुद्ध पहिलो खेलमा उत्रिएका उनले १४ बलमा तीन चौकासहित १४ रन मात्रै बनाए। उनलाई क्यानेडाली बलर हर्ष ठाकरले सहजै बोल्ड गराए। तर, काठमाडौं गुर्खाजविरुद्धको खेलमा भने उनले सानदार पुनरागमन गर्दै अर्धशतक प्रहार गरे। ५१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्कासहित ७२ रनको अविजित इनिङ्स खेलेका थिए। तर, उनको टोलीले उक्त खेलमा जित हात पार्न सकेन।
यस्तोमा दुई खेलको समाप्तीमा अपराजित रहेको चितवनसँग जितविहीन रहेको कर्णालीले प्रतिस्पर्धा गर्न लागेको हो। त्यसैले पहिलो जितको खोजिमा रहेको कर्णालीले धवनबाट १६ वर्ष अगाडिको जस्तै प्रदर्शनको आशा राख्नेछ। अर्कोतर्फ, तन्वीर उत्कृष्ट बलिङसँगै चितवनले धवनलाई रोक्दै अपराजित यात्रा कायम राख्न खोज्नेछ। यो खेलले दुवै खेलाडीलाई आफ्नो ऐतिहासिक भिडन्तको कथा लेख्ने मौका दिनेछ। समर्थकहरू यस भिडन्तको व्यग्र प्रतीक्षामा छन्।
















