सुदूरपश्चिमको डेब्यू खेल, पहिलो जितको खोजीमा विराटनगर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चक यात्रा मंगलबार पनि जारी रहनेछ, जहाँ पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने–सामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।
सुदूरपश्चिमका लागि यो एनपिएलमा डेब्यू खेल हो भने विराटनगरले आफ्नो दोस्रो खेल खेल्दैछ। दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन्।
विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको थियो। उक्त खेलमा जनकपुरका स्पिनर ललित राजवंशीको उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरलाई दबाबमा राखेका थिए। चार ओभर बलिङ गरेका उनले लोकेश बम (५), बसिर अहमद (७) र प्रतिश जिसी (२) लाई आउट गरेका थिए। उनले जम्मा २८ रन मात्रै खर्चिए।
विराटनगरका लागि न्यूजिल्यान्डका अनुभवी ओपनर मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाएका थिए। उनीबाहेक ओमानी ब्याटर अकिब इलियासले १५ रन बनाएका थिए। तर, बाँकी ब्याटरहरूले निराशाजनक प्रदर्शन गर्दै दोहोरो अंकमै रन बनाउन असफल भए। जनकपुरविरुद्ध कमजोर ब्याटिङ र विकेट लिन नसक्नु विराटनगरको मुख्य समस्या बन्यो।
बलिङतर्फ पनि क्रिस सोल र प्रतिशले मात्रै समान एक विकेट लिन सके। जसका कारण विराटनगरले दिएको १२७ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनायो।
खेलपछि गप्टिले त्रिवि क्रिकेट मैदानको नयाँ पिचमा ब्याटिङ गर्न सहज नभएको बताएका थिए। ‘ब्याटमा बल कनेक्ट नहुँदा सुरुमा मलाई खेल्न गाह्रो भयो। निकै कठिन विकेट थियो। पहिलो ब्याटिङ गर्न सहज थिएन। बल सिधा आइरहेको थिएन,’ उनले भने। टिमले कम रन जोड्दा हार बेहोर्न परेको उनले बताएका थिए।
‘हामीले यति थोरै रन बनाउँछौं भनेर आश गरेको थिएनौं। तर, क्रिकेटमा कहिलेकाँही यस्तै हुन्छ। हामी पूरै टिमले पहिलो खेलबाट सिक्नुपर्छ। यसमा काम गरेर अर्को खेलमा हामी फर्कनेछौं,’ उनले भने।
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीले विराटनगरविरुद्ध आफ्नो प्रदर्शन सुधार्ने लक्ष्य राखेको छ। यता, सुदूरपश्चिम टोली सन्तुलित र अनुभवी खेलाडीले भरिएको देखिन्छ। टोलीमा गत वर्ष चीनको हङचाउमा भएको एसियन गेम्सअन्तर्गत मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी छन्।
६ बलमा ६ छक्कासमेत प्रहार गरिसकेका उनको कप्तानीमा सुदूरपश्चिम मैदान उत्रिने छ। यस्तै, मध्यक्रमका भर्पदा ब्याटर आरिफ शेख र डेथ ओभर स्पेलिस्ट अभिनास बोहोराजस्त खेलाडीले टोलीलाई बलियो बनाएका छन्।
















