इन्टर कलेज ई स्पोर्ट्सको मुख्य प्रायोजकमा फ्रेम बक्स

काठमाडौं। इशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेम बक्स जोडिएको छ। ई स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेम बक्स जोडिएको हो।
इशानले विद्यालय स्तरको ई स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रूपमा इन्टर कलेज कार्यक्रमको आयोजना गर्दै छ। प्रतियोगितामा देशभरबाट कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन्,इशानको वेब साइटमा गएर इच्छुक विद्यालय/कलेजले टिम तथा खेलाडी दर्ता सक्नेछन्।
पछिल्लो समय विश्व बजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेम बक्स ई स्पोर्ट्स खेलको प्रबद्र्धनमा जोडिएको हो। इशानका अध्यक्ष अञ्जन धमला र फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताको अवधि एक वर्षको रहने बताइएको छ।
इशान अध्यक्ष धमलाले फ्रेम बक्ससँगको सम्झौताले कलेज स्तरमा हुन लागेको प्रतियोगितालाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए। फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्व बजारमा लोकप्रिय रहेको एनिमेसन र भिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए।
काठमाडौंको बसुन्धारास्थित साउथ वेष्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाइल, एमएलबिबी, ई फुटबल र फ्री फायर गरी चार विधा समावेश गरिएको छ। कुल पुरस्कार राशि ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन्।