भारतलाई नेपालमा दुई पटक काभा जिताएकी शिल्पा गण्डकीबाट खेल्ने

काठमाडौं। भारतीय महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण खेलाडी शिल्पा सिन्धुले वात्साल्या एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभीयल) को फ्रेन्चाइजी टिम गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन् । आउँदै गरेको सिजनका लागि गण्डकीले उनलाई टिममा अनुबन्ध गरेको हो । शिल्पा भारतीय टिमकी भरपर्दाे खेलाडी हुन् ।
शिल्पाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउन महत्वपूर्ण योदान गरेकी छन् । नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी टिमको महत्वपूर्ण सदस्य थिइन् ।
२२ वर्षीय मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
शिल्पाले भारतमा हुने दानिकुट्टी डेविड मेमोरियल एन्डोमेन्ट अवार्ड २०२३ पनि जितेकी छन् । गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग हुन लागेको हो । आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि गण्डकी तयार छ । गण्डकीले अब आफ्नो अन्तिम तथा तेस्रो विदेशी खेलाडी छिटै सार्वजनिक गर्ने टिमका प्रवन्धक विकास खेतानले तयारी छ ।














