काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन्।
प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गर्ने प्रस्ताव गरिएको छ। प्रतियोगिताका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले बताए। १० हजार दर्शक बस्ने क्षमताको रंगशाला रहेको बताइएको छ।
‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रंगशाला निर्माण हुँदैछ। कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्री सबैको जोशजाँगर छ। संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ। खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुआत हुन्छ,’ उनले भने।
रंगशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उनले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने बताए।
खेललाई कसरी राम्रो र व्यवस्थित बनाउने सन्दर्भमा आफूहरु लागिरहेको उनको भनाइ छ। प्रतियोगिताको समापनमै ११औं राष्ट्रिय खेलकुलको घोषणा हुने उनले बताए। मन्त्री चौधरीका अनुसार ११औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उनले बताए। मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ। बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौंमा हुने मन्त्री चौधरीले बताए।