एमबाप्पेबिना फ्रान्सको जित

काठमाडौं। स्टार फरवार्ड तथा कप्तान किलियन एमबाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले सोमबार नेसन्स लिगमा बेल्जियमलाई अर्को हार चखाएको छ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) मा एमबाप्पेका दुई पूर्वसहकर्मी रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाएका हुन्। यसअघि फ्रान्स यही मैदानमा शुक्रबार राति भएको खेलमा इटालीसँग ३–१ ले पराजित भएको थियो।
युरो कप २०२४ को सेमिफाइनलमा उपाधि विजेता स्पेनसँग पराजित भएको दुई महिनापछि फ्रान्स लगातार तेस्रो हारबाट जोगिन खोजे पनि एमबाप्पेलाई सुरुदेखि नै आराम दिइएको थियो। युरो कपपछि रियल मड्रिडका नयाँ स्टारले प्रि–सिजन तयारी निकै कम गरेका थिए र इटालीविरुद्ध ९० मिनेट खेलेका थिए।
एमबाप्पेको युगमा फ्रान्सले बेल्जियममाथिको जितको यात्रालाई चार खेलसम्म लम्ब्याएको छ। फ्रान्सले सन् २०१८ को विश्वकप, २०२१ को नेसन्स लिग र युरो कप २०२४ को राउन्ड अफ १६ मा बेल्जियमलाई पराजित गरेको थियो।
खेलको ३०औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई तीन अंक दिलाए। जितसँगै फ्रान्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। फ्रान्सको शीर्ष स्थानमा रहेको इटालीको भन्दा तीन अंक कम छ।