काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले मलेसियामा आयोजना हुने यु–१९ महिला टी–२० विश्वकप २०२५ को तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता १८ जनवरीदेखि सुरु हुनेछ।
फाइनल २ फेब्रुअरीमा हुनेछ। प्रतियोगितामा १६ टोलीबीच ४१ खेल हुनेछन्। समूहमा साबिक विजेता भारतसँगै वेस्ट इन्डिज, श्रीलंका र आयोजक मलेसिया रहेका छन्।
यो प्रतियोगिता मलेसियाका चार सहरमा हुनेछ। सेलान्गोरको बाउमास ओभलले समूह ‘ए’ का सबै खेल र फाइनलको आयोजना गर्नेछ। जोहरको दातो डा. हरजीत सिंह जोहर क्रिकेट एकेडेमीले समूह ‘बी’ खेल आयोजना गर्नेछ। सारावाकको बोर्नियो क्रिकेट मैदानमा समूह ‘सी’ का खेल हुने छ भने सेलान्गोरको युकेएम वाईएसडी ओभलले समूह ‘डी’का खेलहरू आयोजना गरिनेछ।
समूह ‘सी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका र अफ्रिका क्वालिफायरको अर्को टोलीसँग समोआ हुनेछ। समोआका लागि कुनै पनि उमेर समूहमा यो पहिलो विश्वकप हुनेछ। समूह ‘बी’ मा इङ्ल्यान्डसँगै पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश, स्कटल्याण्ड र एक एसिया छनोट खेलेका छन्। समूह ‘ए’ मा भारत, वेस्ट इन्डिज, श्रीलंका र मलेसिया छन्।
यसअघि सन् २००८ मा मलेसियाले यु–१९ पुरुष विश्वकप पनि आयोजना गरेको थियो। जसमा विराट कोहली, केन विलियम्सन, स्टिभ स्मिथ, इमाद वासिम, रीजा हेन्ड्रिक्स, ट्रेन्ट बोल्ट, रविन्द्र जडेजाजस्ता स्टारहरूले भाग लिएका थिए। विश्वकप सुरु हुनुअघि जनवरी १३ देखि १६ सम्म १६ अभ्यास खेल हुनेछन्।