काठमाडौं। पाकिस्तानले अर्को साता रावलपिण्डीमा बंगलादेशविरुद्ध हुने पहिलो टेस्ट स्पिनरबिना नै खेल्ने भएको छ। टोलीका फ्रन्टलाइन स्पिनर अबरार अहमद टेस्ट स्क्वाडमा पर्न सकेका छैनन्।
यसको मतलब पाकिस्तानले यो टेस्ट पूर्ण फास्ट बलिङ आक्रमणका साथ खेल्नेछ। टोलीमा एक वर्षपछि फर्किएका नसिम शाह पनि छन्, जसले शाहीन शाह अफ्रिदीसँगै फास्ट बलिङ आक्रमणको नेतृत्व गर्नेछन्।
खुर्रम शहजाद, मिर हम्जा र मोहम्मद अली टोलीमा रहेका अन्य फास्ट बलर हुन्। उनीहरूले अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा आफ्नो प्रदर्शनबाट प्रभावित बनाएका थिए।
तर, आमिर जमाल पहिलो टेस्टका लागि उपलब्ध हुने सम्भावना कम छ। अस्ट्रेलियामा जमलले पनि उत्कृष्ट बलिङ गर्दै १८ विकेट लिए। उनले ब्याटिङमा पनि राम्रो योगदान दिए। तर, समरको सुरुमा उनलाई ढाड दुख्ने समस्या देखिएको थियो।
चोटका कारण अस्ट्रेलियासँग खेल्न नसकेका अबरारलाई कामरान गुलामसँगै रिलिज गरिएको छ। अबरार र गुलाम दुबै कराँचीमा हुने दोस्रो टेस्टमा उपलब्ध हुनेछन्।
अबरारको अनुपस्थितिको अर्थ पाकिस्तान सेप्टेम्बर १९९५ पछि दोस्रो पटक मात्रै घरेलु टेस्टमा स्पिनरबिना हुनेछ। पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा रावलपिण्डीमा पाकिस्तानी टोली यस्तो रणनीति लिएर मैदानमा उत्रिएको थियो।