काठमाडौं । क्यानडामाथि फराकिलो जित हासिल गर्दै नेदरल्यान्ड्स आइसीसी विश्वकप लिग–२ को अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। नेदरल्यान्ड्सले पाहुना टोलीमाथि ६३ रनको जित हासिल गरेको हो।
सात खेलबाट १० अंक जोडेको नेदरल्यान्ड्स शीर्षस्थानमा रहेको छ। ९ अंक रहेको स्कटल्यान्ड दोस्रो र आठ अंक रहेको क्यानडा तेस्रो स्थानमा छ।
नेदरल्यान्ड्सले दिएको २२१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ मा सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो। क्यानडाको यो लगातार तेस्रो हार हो।
क्यानडाको लागि श्रेयस मोव्वाले सर्वाधिक ४७ रन बनाए। उनले ७२ बलमा ४ चौका प्रहार गरे। यस्तै, आरोन जोनसोन ३२, दिलप्रीत सिंह २० र डिलोन हेलिगर १४ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेदरल्यान्ड्सका पावल भ्यान मिकरेनले सर्वाधिक पाँच विकेट लिए। उनले ९.४ ओभर बलिङ गर्दै एक मेडनसहित २८ रन खर्चिए। भिभियन किङ्माको नाममा तीन विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनायो। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ७२ रन जोडे। उनले ९४ बलमा ३ चौका प्रहार गरे।
नोह क्रोसले ३१, विक्रमजित सिंहले २५, म्याक्स ओडाउडले १८, काइल क्लेनले १० तथा शरिज अहमदले १९ रन बनाए। क्यानडाका कलिम सानाले चार, हर्ष ठाकर र डेलिन हेलिंगरले समान दुई विकेट लिए।