काठमाडौं । भेट्रान्स फोट्टीले आयोजना गर्ने कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा गोदावरी स्टिल्स जोडिएको छ ।
ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि सुरु हुने कर्पोरेट क्रिकेट प्रतियोगितामा गोदावरी स्टिल्स मुख्य प्रायोजकको रुपमा जोडिएको छ ।
आयोजक भेट्रान्स फोट्टीका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारी र गोदावरी स्टिल्सका मार्केटिङ हेड युवराज पोखरेलले बिहीबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सिईओ भण्डारीले क्रिकेट प्रेमी र पुराना खेलाडीलाई प्रतियोगिताले राम्रो अवसर प्रदान गर्ने बताए । उनले प्रतियोगितालाई अझ स्तरीय र भब्यताका साथ विकास गरिने बताए ।
गोदावरी स्टिल्सका मार्केटिङ हेड पोखरेलले कर्पोरेट क्रिकेटसँगको सहकार्यलाई दीर्घकालिन रुपमा अघि लैजाने ईच्छा ब्यक्त गरे ।
बिहीबारको पत्रकार सम्मेलनमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर तथा बलरलाई थाईल्याण्ड टूरको प्याकेज दिने घोषणा गरिएको छ ।
पत्रकार सम्मेलनमा सहभागी २० टिमको समूह विभाजन गरिएको थियो ।
समूह एमा नेपाल बैंक, लक्ष्मी सनराईज बैंक, आईएमई ग्रुप, प्रभु बैंक, सालिको रहेका छन् । समूह बीमा जगदम्बा ग्रुप, एनआईसी एसिया, युनाईटेड अजोड, लुम्बिनी विकास बैंक, क्लाउड फ्याक्ट्री छन् ।
समूह सीमा आईसीएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा इन्स्योरेन्स, क्विस्ट फर्मा, नेपाल एसबीआई बैंक र समूह डीमा केआईईसी, राष्ट्रिय वाणिज्य बैंक, प्राईम बैंक, अम्बे ग्रुप र कर्मचारी सञ्चय कोष सहभागी रहेको कम्पनी सचिव अनिल बर्तौलाले बताए ।