काठमाडौं। रोहित शर्मा, विराट कोहली, रविचन्द्र अश्विन र जसप्रित बुमराहले सेप्टेम्बर ५ बाट सुरु हुने दुलीप ट्रफी नखेल्ने भएका छन्। यस प्रतियोगिताको लागि खेलाडी छनोट यसै महिनाको अन्त्यमा हुनेछ, जसमा बीसीसीआईको केन्द्रीय सम्झौताअन्तर्गतका अन्य खेलाडीहरू सहभागी हुनेछन्।
भारतले आगामी ५ महिनामा १० टेस्ट खेल खेल्नुपर्ने भएकाले यस प्रतियोगिताबाट सिनियर खेलाडीलाई आराम दिइनेछ। यस प्रतियोगितामा केएल राहुल र ऋषभ पन्त पनि सहभागी हुन सक्नेछन्। राहुल चोटका कारण यस वर्षको सुरुमा इङ्ल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखलाबाट बाहिरिएका थिए। डिसेम्बर २०२२ मा कार दुर्घटनापछि पन्तको यो पहिलो रेड बल प्रतियोगिता हुनेछ। शुभमन गिल, यशस्वी जैसवाल, सरफराज खान, सूर्यकुमार यादव र रजत पाटीदार पनि चार टोलीको यो प्रतियोगितामा सहभागी हुनेछन्।
चोटबाट निको भई पूर्ण फिटनेसको नजिक रहेका मोहम्मद शामीले पनि प्रतियोगिता गुमाउने सम्भावना छ। उनलाई यो प्रतियोगितामा सहभागी भएर आफ्नो म्याच फिटनेस प्रमाणित गर्न भनिएको छ। उनी हाल एनसीए बेंगलुरुमा रिह्याबमा छन्।
यस प्रतियोगिताका दुई खेल सेप्टेम्बर ५ मा खेलिनेछन्, जसमा एउटा खेल अनन्तपुरबाट बैंगलोरमा सारिएको छ। कर्नाटक क्रिकेट संघ (केएससीए) ले अनौपचारिक रूपमा यी खेलहरू आयोजना गर्न स्वीकृति दिएको छ।
बीसीसीआई सचिव जय शाहले फेब्रुअरीमा अनुबन्धित खेलाडीह उपलब्ध हुँदा घरेलु क्रिकेट खेल्नुपर्ने अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए।
चार टोलीको यो प्रतियोगितामा अब प्रत्येक टोलीले राउण्ड रोबिनका आधारमा तीनवटा खेल खेल्नुपर्नेछ। अंकको आधारमा शीर्ष टोलीलाई विजेता घोषित गरिनेछ। भारतको यो सिजनको पहिलो टेस्ट सेप्टेम्बर १९ मा चेन्नईमा बंगलादेशसँग सुरु हुँदैछ।