काठमाडौं। इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स द हन्ड्रेडको खेलमा गम्भिर घाइते भएका छन्। आइतबार साँझ म्यानचेस्टर ओरिजिनल्स (एमओ) र नर्दन सर्चार्जर्स (एनएससी) बीचको खेलमा स्टोक्सलाई रन लिने क्रममा बायाँ खुट्टामा चोट लागेको हो।
फिल्डबाट बाहिर निस्कन उनले मेडिकल स्टाफको काँधमा सहारा लिनुपर्ने भयो। यस अवधिमा उनी लगातार आफ्नो बायाँ खुट्टाको ह्यामस्ट्रिङलाई हातले समातिरहेका थिए।
यसपछि उनलाई एम्बुलेन्समा स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो। स्टोक्स एक घण्टापछि डगआउटमा फर्किए पनि उनले बैसाखीको सहारा लिनुपरेको थियो।योसँगै श्रीलंकाविरुद्धको आगामी टेस्ट सिरिजमा उनको सहभागिता शंकास्पद बनेको छ।
कप्तान ह्यारी ब्रुकले खेलपछि भने, ‘चोट निकै गम्भीर देखिन्छ, उनको स्क्यान हुनेछ। त्यसपछि मात्रै थप थाहा पाउँछौं।’ उनी ओपनिङ गर्न आएका थिए। चार बलमा दुई रन बनाएपछि उनी चोटग्रस्त भएर रिटायर भए।
ओली पोप इङ्ल्यान्डका टेस्ट टोलीका उपकप्तान हुन् र स्टोक्सको अनुपस्थितिमा उनले टोलीको कमाण्ड सम्हाल्न सक्छन् भने जोर्डन कक्सले टोलीमा स्थान पाउन सक्छन्। तीन खेलको टेस्ट सिरिज अगस्ट २१ बाट म्यानचेस्टरमा सुरु हुँदैछ।