काठमाडौं। भारतको ट्वान्टी–२० आई कप्तान सूर्यकुमार यादवले आफ्नो एकमात्र टेस्ट खेलेको एक वर्ष भन्दा बढी भइसक्यो। तर, उनले टेस्ट क्रिकेट खेल्ने आशा छाडेका छैनन्।
सूर्यकुमार यसअघि तमिलनाडुमा हुने बुच्ची बाबु आमन्त्रण प्रतियोगिताका लागि छनोट गरिएको मुम्बईको युवा टोलीमा समावेश गरिएको थिएनन्। तर, उनले यस प्रतियोगिताको दोस्रो चरणमा आफू उपलब्धत हुने मुम्बईका छनोटकर्तालाई जानकारी गराए। यो प्रतियोगिता अगस्टमा हुनेछ।
उनी यस प्रतियोगितामा सरफराज खानको कप्तानीमा खेल्दैछन्। सूर्यकुमारले कप्तान परिवर्तन नगर्न पनि छनोटकर्तासँग आग्रह गरेका थिए। अगस्ट २७ देखि सलेममा हुने मुम्बई र जम्मू कश्मीरबीचको खेलमा सूर्यकुमारले खेल्न सक्नेछन्।
टाइम्स अफ इन्डियासँग कुरा गर्दै सूर्यकुमारले भने, ‘म भारतका लागि तीनवटै फर्म्याटमा खेल्न चाहन्छु। बुची बाबु खेल्दा मलाई यो सिजन खेल्ने रातो बल क्रिकेटमा अभ्यास गराउनेछ।’
सूर्यकुमारले भर्खरै श्रीलंकामा ट्वान्टी–२० आई कप्तानको भूमिका सम्हालेका थिए, जुन शृंखला भारतले ३–० ले जितेको थियो। उनी एकदिवसीय सिरिजका लागि टोलीमा परेका छैनन्। मुख्य छनोटकर्ता अजित आगरकरले सूर्यकुमार हाल भारतीय टोलीको एकदिवसीय योजनाको हिस्सा नभएको बताएका थिए।
अक्टोबरमा बंगलादेशविरुद्ध हुने शृंखलाअघि भारतीय टोलीले कुनै पनि ट्वान्टी–२० खेल्ने छैन। सूर्यकुमारसँग रातो बल क्रिकेटको लागि अभ्यास गर्ने र टेस्टमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने मौका छ। बुची बाबु प्रतियोगितापछि अनन्तपुरमा दुलीप ट्रफी हुनेछ, जसमा राष्ट्रिय छनोटकर्ताले छनोट गरेका चार टोलीले भाग लिनेछन्।
सूर्यकुमारले अन्तिम पटक जुलाई २०२३ मा प्रथम श्रेणी क्रिकेट खेलेका थिए, जब उनले दुलीप ट्रफीमा मात्रै भाग लिएका थिए। सूर्यकुमारले अहिलेसम्म ८२ प्रथम श्रेणी खेल खेलेका छन्। जसमा उनले ४३.६२ को औसतमा पाँच हजार ६२८ रन बनाएका छन्। यस अवधिमा उनले १४ शतक र २९ अर्धशतक बनाएका छन्।