सेमिफाइनलको अन्त्यमा भएको हिंसात्मक झडपबारे छानबिन सुरु

काठमाडौं। कोपा अमेरिका आयोजक कोन्मेबोलले उरुग्वे र कोलम्बियाबीच बुधबार शार्लोटमा भएको सेमिफाइनलको अन्त्यमा भएको हिंसात्मक घटनाको अनुशासनात्मक छानबिन सुरु गरेको छ।
उरुग्वे तथा लिभरपुलका स्ट्राइकर डार्विन नुनेजले खेल सकिएपछि बैंक अफ अमेरिका स्टेडियमको स्ट्यान्डमा छिरेर समर्थकलाई मुक्का हानेका थिए।
उरुग्वेले शनिबार तेस्रो स्थानका लागि क्यानडासँग सोही रंगशालामा प्रतिस्पर्धा गर्नेछ। 'उरुग्वे र कोलम्बियाबीचको खेलको अन्त्यमा भएको हिंसात्मक घटनालाई ध्यानमा राख्दै कन्मेबोलको अनुशासन एकाइले घटनाक्रम र यसमा संलग्न व्यक्तिहरूको अनुसन्धान सुरु गर्ने निर्णय गरेको छ,' दक्षिण अमेरिकी परिसंघले भनेको छ।
उरुग्वेका सेन्ट्रल डिफेन्डर जोसे मारिया गिमेनेजले मैदानको खेल हेरिरहेका परिवारका सदस्य र प्रियजनको सुरक्षाको चिन्ताका कारण खेलाडीहरू झगडा गर्न पुगेको बताए।
'हाम्रो परिवार खतरामा थिए। साना नवजात शिशुसहित हाम्रा प्रियजनहरूलाई बाहिर निकाल्न हामी स्ट्यान्डमा जानुपऱ्यो,' एट्लेटिको म्याड्रिडका खेलाडीले भने, 'त्यहाँ एक जना पनि प्रहरी अधिकृत थिएनन्।'













