काठमाडौं। ट्वान्टी–२० विश्वकप २०२४ मा भारतीय टोलीले क्रिकेट इतिहासका दुई ठूला हारको बदला लियो।
एकदिवसीय विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलिया र ट्वान्टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित भएको भारतीय दर्शकले बिर्सेनन्। तर, यो विश्वकपमा रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले यी दुई ठूला देशसँग बदला लिएको छ।
भारतले सुपर एटमा पहिले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो। यो हारसँगै अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको थियो। यता, दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले पराजित गरेको छ।
गुयाना मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको ५७ र सूर्यकुमार यादवको ४७ रनको मद्दतमा १७१ रन बनाएको थियो। जवाफमा इङ्ल्यान्डले १०३ रन मात्र बनाउन सक्यो र ६८ रनले पराजित भयो।