अन्तिम खेलमा नेपालले यमनसँग खेल्दै

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले साउदी अरेबियाको दमाममा मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दै विश्वकप २०२६ छनोटको अन्त्य गर्दैछ। छनोटको दोस्रो चरणबाट बाहिरिइसकेको नेपालको लागि उक्त खेलले कप्तान किरण चेम्जोङको एक सयौं खेलको रूपमा रेकर्ड बनाउनेछ।
प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा सुरु हुने खेलले किरणलाई एक सय क्याप जित्ने पहिलो नेपाली खेलाडीको रूपमा स्थापित गर्नेछ। इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको नेपाली टिमबाट गोलको खडेरी तोड्न सक्ने आशा गरिएको छ। उनको एन्फासँग सम्झौताअनुसार अन्तिम खेल हो यो। उनले टिममा पुनरागमन गरेका आयुष घलानलाई आज खेल्ने अवसर दिन सक्छन्।
नेपालले यो विश्वकप छनोटमा गोलको खाता खोल्नै सकेको छैन। नेपालले छनोटको अन्तिम तथा छैटौं खेल आज खेल्दैछ। अघिल्ला पाँच खेलमा शतप्रतिशत हार बेहोर्ने क्रममा १८ गोल खाएको छ। त्यसैले नेपाली टिमको मुख्य चुनौती नै गोलको खडेरी तोड्ने हो। कप्तान किरणले गोलको खडेरी तोड्दै पहिलो अंक हासिल गर्दै यो छनोट टुंग्याउने लक्ष्य रहेको बताएका छन्।
समूह ‘एच’ बाट युएईले १५, बहराइनले १० अंकसहित शीर्ष दुईमा रहँदै तेस्रो चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यमनले चार अंक जाडेको छ भने अंकविहिन नेपाल समूहको पुछारमा रहेको छ। एसियाका ३६ टिम सहभागी छनोटमा नेपाल, पाकिस्तान र चाइनिज ताइपेइ मात्रै अंकविहिन छन्।
नेपालले ‘अवे’ खेलको रूपमा दमाममा यमनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। नोभेम्बर, २०२३ मा दशरथ रंगशालामा भएको खेलमा यमनले दोस्रो हाफमा दुई गोल गर्दै नेपाललाई २–० ले हराएको थियो। फिफा वरीयतामा नेपाल १७८ र यमन १५६ औं स्थानमा छन्।
विश्वकप २०२६ को यो छनोट एसियन कप २०२७ को छनोटको आधार पनि हो। विश्वकप छनोटबाट बाहिरिएको नेपालले अब यो छनोटपछि एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ।











-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)