काठमाडौँ। लेग स्पिनर सन्दीप लामिछानेले नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएका छन्।
जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले बुधबार लामिछानेलाई सफाइ दिएको हो। गत पुस २५ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएका थिए।
ढकालको इजालासले परिवर्तित नाम गौशाला २६ को उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्तिबापत लामिछानेबाट भराइदिने ठहर गरको थियो।
उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। मंगलबार र बुधबार दिनभरि दुवै पक्षको बहस सुनेपश्चात् उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले अभियोगको दाबी नपुगेको भन्दै लामिछानेलाई सफाइ दिएको हो।
२०७९ साल भदौ २१ गते गौशला प्रहरी वृत्तमा लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको थियो। उच्च अदालतको फैसलापछि लामिछानेलाई क्रिकेटमा फर्किने बाटो खुलेको छ। जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बनमा राखेको थियो।