मोक्षदा र सैनिक उपाधिका लागि भिड्ने

काठमाडौँ। जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मोक्षदा स्कुल र सैनिक आवासीय महाविद्यालय भिड्ने भएका छन्।
शनिबार सम्पन्न सेमिफाइनलमा मोक्षदाले डीएभी स्कुल र सैनिकले एन्जल हार्ट स्कुललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
फाइनल पुगेको मोक्षदाले डीएभीलाई १२ रनले पराजित गर्यो। मोक्षदाले दिएको १०६ रनको लक्ष्य पछ्याएको डीएभी १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमै समेटियो।
डीएभीका रौनक मिश्रले सर्वाधिक २६ रन बनाए। प्रसन्न पौडेल २० र आरुश झा १० रनमा आउट भए। मोक्षदाका सौर्य सिंहले सर्वाधिक ५ विकेट लिए। नितेश बुढाथोकी र अभि राजपूतको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मोक्षदाले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो। मोक्षदाका अभी राजपूतले सर्वाधिक २० रन बनाए। संम्यम नेपाल १९ र ईशान शाह १७ रनमा आउट भए।
डीएभीका केशव अग्रवालले सर्वाधिक २ विकेट लिए। कृर्तिक ज्ञवाली र प्रसिद्ध जैसीको नाममा १/१ विकेट रह्यो।
अर्को खेलमा सैनिकले एन्जल हार्ट स्कुललाई ८८ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो। सैनिकले दिएको १७२ रनको लक्ष्य पछ्याएको एन्जल हार्ट १७ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै समेटियो।
एन्जल हार्टका युवराज खत्रीले सर्वाधिक ४२ रन बनाए। जोय थापाले २० र गगन बस्नेत ७ रनमा आउट भए। सैनिकका लवकुमार ठाकुरले सर्वाधिक ५ विकेट लिए। सफल पौडेलले २ विकेट लिँदा सन्देश बुढाथोकीको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
सैनिकका रिगल महतले सर्वाधिक ५१ रन बनाए। राजदीप आचार्य ४० र रोजल खड्का ११ रनमा आउट भए। एन्जल हार्टका युवराज खत्री, जोथ थापा र गगन बस्नेतले १/१ विकेट लिए।





%20(1)-1777447778534.jpeg&w=3840&q=75)









