काठमाडौं । ग्रान्डमास्टर (जीएम) अलेक्जेन्डर रियाजन्त्सेवले वुधबार सगरमाथा आधार शिविरमा सम्पन्न एभर–चेस २०२४ को उपाधि जितेका छन् ।
समुद्री सतहबाट ५,३६४ मिटर उचाईमा विश्व कीर्तिमान बनाउने लक्ष्यसहित रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।
संसारकै सबभन्दा माथिल्लो स्थानमा आयोजित प्रतियोगितामा प्रतिकूल मौसमका बावजुद पनि १४ रसियन र चार नेपाली गरी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
स्वीस लिगको आधारमा नौ चरणमा सञ्चालित एभर–चेस २०२४ मा २५०२ रेटेड अलेक्जेन्डर र युरीले अपराजित रहँदै समान ८ अंक जोडेका थिए । त्यसपछि टाइब्रेकमा युरीको चुनौती समाप्त पार्दै अलेक्जेन्डरले स्वर्णपदक कब्जा गरेका हुन् । २४१४ रेकेड भ्लादिमिर सुमिलिनले ७ अंकसहित तेस्रो स्थान हात पार्दै कांस्यपदक प्राप्त गरे ।
स्वदेशी खेलाडीतर्फ कुंका शेर्पाले सर्बाधिक चार अंक बटुल्दै १२ औं स्थान हात पारे । पेम्बा तामाङ र मिङ्मा गेलु शेर्पाले ३–३ अंक बनाए भने सोनाम शेर्पाले २ अंक जोडेका थिए ।
रसियन चेस महासंघको टिमले ट्रेकिङ गर्दै सगरमाथा आधार शिविरतर्फ जानुअघि काठमाडौंमा नेपाल बुद्धिचाल महांघको टिमले मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रतियोगिताको पुरस्कार राशी १ करोड २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।