काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत चौथो खेल बिहीबार खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। बुधबार सम्पन्न तेस्रो खेलमा घरेलु टोली नेपाललाई ७६ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा २-१ को अग्रता बनाएको छ।
वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्रै बनाउ सक्यो।
शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो। आइतबार सम्पन्न दोस्रो खेलमा पनि नेपाल १० रनले पराजित भएको थियो। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।