काठमाडौँ। खराब लयबाट गुज्रिरहेका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साहले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीमा स्थान बनाएका छन्।
सन् २०१८ मा नेदरल्यान्डविरुद्ध खेल्दै उनले टी–२० आईमा डेब्यू गरेका थिए। उक्त खेलमा उनले ब्याटिङ भने गर्ने पाएनन्।
उनले अन्तिम पटक कीर्तिपुरमै भएको नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मितलित त्रिदेशीय शृंखला खेलेका थिए। नामिबियाविरुद्धको एक खेलमा मात्रै मौका बनाएका उनले ओपनिङमा उत्रिएर १७ बलमा ३ छक्कासहित २३ रन बनाएका थिए।
उनको यो नै उच्च स्कोर हो। पटक पटक मौका पाउँदा पनि उनले आफूलाई प्रमाणित गर्न सकेका छैनन्। वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा पनि उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
३ इनिङ्स खेलका उनले ६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा २० रन मात्रै बनाएका छन्। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्ने क्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।
विवेक बाहिरिए
अनिल झैँ खराब लयमा रहेका अलराउन्डर विवेककुमार यादव भने टोलीमा अटाउन सकेनन्। सन् २०२२ मा ओमानविरुद्धको खेलमा उनले टी–२० आईमा डेब्यू गरेका थिए।
त्यसयता १९ इनिङ्स खेलेका उनले १०.११ को औसत र ११२.३४ को स्ट्राइक रेटमा ९१ रन बनाएका थिए। उनले ८ इनिङ्समा ८९ को औसत र ९.७० को इकोनोमीमा ८९ रन खर्चिएर १ विकेट लिएका थिए।
खराब लयका बाबजुद उनलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिजविरुद्धको शृंखलामा मौका दिइरहेका थिए। तर, २ इनिङ्स खेलेका उनले १० रनभन्दा बढी बनाउन सकेनन्।
लोकेश पनि अटाएनन्
अनिलले भन्दा राम्रो प्रदर्शन गरिरहेका विकेटकिपर ब्याट्सम्यान लोकेशकुमार बमले पनि टोलीमा स्थान बनाउन सकेनन्। उनले ११ खेल खेलेका छन्। १२.२८ को औसत र १२२.८५ को स्ट्राइक रेटमा उनले ८६ रन बनाएका छन्।
वेस्ट इन्डिजविरुद्धको खेलमा पनि उनले अनिलले भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्। २ इनिङ्स खेलेका उनले २२.५० को औसत र १०० को स्ट्राइक रेटमा ४५ रन बनाएका छन्।