काठमाडौँ। पाकिस्तानी ब्याटर मोहम्मद रिजवान र इरफान खान नियाजीले न्यूजिल्यान्डविरुद्धको बाँकी टी–२० खेल गुमाउने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले दुवैको रेडियोलोजी रिपोर्ट प्राप्त गरेको र शृंखलाबाट बाहिर राख्ने निर्णय गरेको जनाएको छ।
तेस्रो टी–२० मा ब्याटिङ गर्ने क्रममा रिजवानको ह्यामस्ट्रिङमा चोट लागेको थियो। लगत्तै उनी रिटायर्ड हर्ट हुनुपरेको थियो। पीसीबीले उनी कम्तिमा १० दिन मैदानबाहिर रहने जनाएको छ। नियाजीलाई भने कुनै प्रकारको समस्या देखिएको थिएन। तर, उनको पनि ह्यामस्ट्रिङ भएको पाइएको छ। जसका कारण पीसीबीले उनलाई शृंखला खेल्न रोकेको छ।
यो जोडीबाहेक आजम खान चोटका कारण पहिले नै उपलब्ध थिएनन्। यस वर्षको शुरूमा न्यूजिल्यान्डविरुद्ध टी–२० मा डेब्यु गरेका हसिबुल्लाहलाई आजमको ब्याकअपको रूपमा बोलाइएको थियो।
रिजवानको अनुपस्थितिमा पाकिस्तानसँग विकेटकिपिङका धेरै विकल्प छन्। हसिबुल्लाहले अहिलेसम्म खेल्ने मौका पाएका छैनन्। उनी विकेटकिपर ब्याट्सम्यान हुन्। उस्मान खानले पीएसएलमा मुल्तान सुल्तान्सका लागि दुई खेलमा विकेटकिपिङ गरेका थिए।
दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलमा पुनरागमन गर्दै न्यूजिल्यान्डले शृंखला १–१ को बराबरीमा ल्याएको छ भने अन्तिम दुई खेल अब लाहोरमा खेलाइँदै छ।