काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको व्यक्तिगत विधामा च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका खेलाडीले बर्चश्व जमाएको छ ।
लिगको उत्कृष्ट पाँच विधाको तीन विधामा मनाङले बाजी मारेको हो । अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिएका छन् ।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास, गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए ।
उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले 'मणि बिक्रम शाह युवा खेलाडी' अवार्ड जिते । यस अवार्डसंगै उनले नगद एक लाख प्राप्त गरे ।
उत्कृष्ट खेलाडी र प्रशिक्षक :
उत्कृष्ट गोलकिपर :विशाल श्रेष्ठ (मनाङ मर्स्याङ्दी)
उत्कृष्ट डिफेन्स : रञ्जित धिमाल (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर :हेमन गुरुङ (मनाङ मर्स्याङ्दी)
उत्कृष्ट फरवार्ड : भरत खवास (त्रिभुवन आर्मी)
उत्कृष्ट प्रशिक्षक : सुमन श्रेष्ठ (मनाङ मर्स्याङ्दी)
'मणि बिक्रम शाह युवा खेलाडी अवार्ड' : १ लाख
विकास खवास (त्रिभुवन आर्मी क्लब)