काठमाडौं । च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसंग १ - ० गोल अन्तरले पराजित भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौका सदुपयोग गर्न नसक्दा मनाङले फ्रेन्ड्ससंग अप्रत्यासित हार व्यहोरेको हो । फ्रेन्ड्सको जितमा विकास लामाले निर्णायक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा विकासले हेड गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए ।
लिगको अन्तिम खेलमा फ्रेन्ड्ससंग पराजित भएसंगै मनाङको अपराजित रहेर लिग जित्ने योजना अधुरो बनेको छ । अघिल्ला १३ खेलमा लगातार जित निकालेको मनाङ अन्तिम खेलमा भने पराजित भएको हो ।
मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितेको थियो । मनाङले 'ए' डिभिजन लिगमा कीर्तिमानी आठौं पटक उपाधि जितेको हो ।
उपाधिसंगै मनाङले ५० लाख नगद पुरस्कार पाएको छ । यस्तै मनाङले एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेता बनेको संकटाले ३५ लाख तथा तेस्रो स्थानको रुस्लान थ्री स्टारले २५ लाख प्राप्त गर्यो ।
च्याम्पियन मनाङले लिगको १३ खेलबाट ३३ अंक जोड्न सफल भयो । अन्तिम खेलमा मनाङलाई हराएसंगै फ्रेन्ड्सले १२ अंक जोड्न सफल रह्यो । र, फ्रेन्ड्सले लिगको ११ औं स्थानमा रहेर लिग सकाएको छ ।