काठमाडौँ। सनराइजर्स हैदराबादका लेग स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन्।
बायाँ खुट्टामा लगातार दुखाइका कारण उनले आईपीएल गुमाउने भएका हुन्। चोटका कारण हसरंगा हैदराबादको टोलीमा आबद्ध भएका थिएनन्।
ईएसपीएन क्रिकइन्फोका अनुसार श्रीलंका क्रिकेट (एसएलसी) ले सिजनको लागि उनको अनुपलब्धताको बारेमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)लाई जानकारी गराएको छ।
हसरंगाको प्रतिस्थापन भने घोषणा गरिएको छैन। तर, हैदराबादले नयाँ खेलाडीको खोजी रहेको बताइन्छ। डिसेम्बर २०२३ मा भएको अक्सनमा उनलाई १ करोड ५० लाख भारूको आधार मूल्यमा हैदराबादले किनेको थियो। यसअघि उनले रोयल च्यालेन्जर्स बेंगलुरूबाट आईपीएल खेलिसकेका छन्।
सन् २०२२ को आईपीएल अक्सनमा बेंगलुरूले उनलाई १० करोड ७५ लाख भारुमा किनेको थियो । उक्त सिजन उनले ७.५४ को इकोनोमीमा २६ विकेट लिएका थिए। तर, २०२३ मा उनले ८ खेल मात्र खेले र ८.९ को इकोनोमीमा ९ विकेट लिए।