काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई)का ब्याट्सम्यान उस्मान खानलाई ५ वर्षको प्रतिबन्ध लगाइएको छ।
पाकिस्तानमा जन्मेका २८ वर्षीय खानलाई इमिरेट्स क्रिकेट बोर्डले शुक्रबार ५ वर्षको प्रतिबन्ध लगाएको हो।
आफ्नो जन्म देशको प्रतिनिधित्व गर्ने मनसायले उनी पाकिस्तानको क्यापमा सहभागी भएपछि उनलाई बोर्डले प्रतिबन्ध लगाएको जनाइएको छ। खाडी राष्ट्रको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ उनी यूएई पुगेका थिए।
यद्यपि, उनले यूएईको राष्ट्रिय टोलीबाट भने डेब्यू गर्न पाएका थिएनन्। तर, मुल्तान सुल्तान्सबाट पाकिस्तान सुपर लिग (पीएसएल) खेलेका उनले यसपटक प्रभावशाली प्रदर्शन गरेका थिए।
इस्लामाबाद युनाइटेड र कराची किंग्सविरुद्ध उनले ‘ब्याक टू ब्याक’ शतक प्रहार गरेका थिए। लाहोर कलन्दर्सविरुद्ध पनि उनले ९६ रनको इनिङ्स खेलेका थिए।
प्रतियोगिताका ७ इनिङ्समा उनले २ शतक र २ अर्धशतकसहित ४३० रन बनाएका थिए। उनी बाबर अजामपछि सर्वाधिक रन बनाउने सूचीमा दोस्रो स्थानमा थिए।
पीएसएलमा गरेको प्रदर्शनपछि उनी पाकिस्तानी टोलीका छनोटकर्ताको नजरमा परेका थिए। त्यसयता उनी पाकिस्तानी टोलीसँग प्रशिक्षण गरिरहेका छन्।
खानले मुल्तान सुल्तान्सका लागि विदेशी खेलाडीका रूपमा पीएसएल खेलेका थिए। तर, उनी पाकिस्तानको प्रतिनिधित्व गर्न इच्छुक देखिन्छन्।
‘उस्मानले यूएई टोलीबाट खेल्ने आफ्नो निर्णयबारेमा बोर्डलाई गलत जानकारी दिए। बोर्डले दिएको अवसरलाई प्रयोग गरेर अन्य सम्भावनाहरू खोज्न प्रयास गरेको पाइयो,’ इमिरेट्स क्रिकेट बोर्डले विज्ञप्तिमा भनेको छ
योसँगै उनले सन् २०२९ सम्म यूएईमा हुने दुई मुख्य दुई घरेलु प्रतियोगिता आईएलटी टी–२० र अबुधाबी टी–१० खेल्न पाउने छैनन्।
युएईले प्रतिबन्ध लगाएसँगै खानले अब न्यूजिल्यान्डविरुद्धको हुने टी–२० शृंखलामा पाकिस्तानको प्रतिनिधित्व गर्ने र अमेरिका र वेस्ट इन्डिजमा जुनमा हुने टी–२० विश्वकपका लागि टोलीमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेका छन्।