काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाल एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनसँग पराजित भएको छ।
शुक्रबार सम्पन्न खेलमा नेपाल ३७ रनले पराजित भएको हो। बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो।
यद्यपि, नेपाल यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो।
बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, अभिनाष बोहरा र आशिफ शेखलाई आराम दिइएका थिए।
नेपालको कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। ४३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे।
विवेककुमार यादव १७ र कुशल भुर्तेल १६ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बरोडाका ध्रुव पटेलले सर्वाधिक ४ विकेट लिए। लक्षित टोक्सिया ३ र जय आभालेले २ विकेट लिँदा हेमन्त पुण्डेको नाममा १ विकेट रह्यो।
त्यसअघि गुजरातको वापीमा टस जितेर पहिला ब्याटिङ थालेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।
बरोडाका आश्वत रावतले सर्वाधिक ३१ रन बनाए। २७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे।
ध्रुव पटेल २९,अमित पासी २६, मोहित मोंगिया २२ र अभिमन्यूसिंह राजपूत ११ रनमा आउट हुँदा हेमन्त पुण्डे ६ रनमा अविजित रहे।
नेपालका करण केसी र गुल्शनकुमार झाले २/२ विकेट लिए। प्रतिश जीसी, ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १/१ विकेट रह्यो।