काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत शुक्रबार दोस्रो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजेबाट शुरू हुने छ। यसअघि बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो। पाहुना टोली आयरल्यान्ड शृंखलामा १–० ले अगाडि रहेको छ।
बुधबार आयरल्यान्डले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सकेको थियो।
नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाएका थिए। ३४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। ओपनर देव खनाल २६ र बसीर अहमद २० रनमा आउट हुँदा रिजन ढकाल १२ रनमा अविजित रहे।
नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आयरल्यान्डका म्याथ्यू हम्फ्रेजले सर्वाधिक ५ विकेट लिएका थिए। यस्तै, लियम म्याकार्थीको नाममा ४ विकेट रहेको थियो।