काठमाडौँ। मुस्ताङ गन्तव्य बनाएर काठमाडौँबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली सोमबार बिहान प्रस्थान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको र्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो। सो र्याली सोमबार पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालापानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ। त्यसैगरी फर्किँदा जोमसोम, कुस्मा हुँदै पोखरा पुगेर समापन हुनेछ।
पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ। र्यालीलाई पोखरामा सोमबार प्रदेशसभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्वसदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद् अध्यक्ष दीपक गोदारले स्वागत गर्ने कार्यक्रम रहेको छ।
माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टू ह्विल टुरिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रूपमासमेत यसलाई लिइएको छ। सेप्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्नेगरी सो राइडअन्तर्गत अन्य विभिन्न कार्यक्रमसमेत आयोजना गरिने छ।
जोमसोममा मोटो खाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो।