काठमाडौँ। घरेलु टोली नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले एक खेल अगावै टी–२० शृंखला जितेको छ।
शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गरेको हो। त्यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो। योसँगै आयरल्यान्डले तीन टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको छ।
आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो।
नेपालका देव खनाले सर्वाधिक ४७ रन बनाए। २५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमद २७, कप्तान विनोद भण्डारी २६, लोकेश बल २५, आरिफ शेख १४ र कमलसिंह ऐरी ११ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। फिओन ह्यान्ड र थोमस मेयरले २/२ विकेट लिए। म्याथ्यू फोस्टर र ग्यारेथ डेनालीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनायो।
आयरल्यान्ड कप्तान निल रकले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए। ३४ बल खेलेका उनले १ चौका र ७ छक्का प्रहार गरे।
यस्तै, पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए। जेम्स जेम्स म्याकोलम २६, रोस अडायर १७ र ग्यारेथ डेनाली १० रनमा आउट हुँदा फिओन ह्यान्ड १९ रनमा अविजित रहे।
नेपालका सागर ढकालले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए।