दोस्रो दिन प्रो भुवन र एमेच्योर सद्भाव शीर्षस्थानमा

काठमाडौँ। एमेच्योर सद्भाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौँ स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे।
आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन्। समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र नीरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे। युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र नीरजले १-ओभर ७३ मा खेल सकाए।
भुवन कुमार रोक्का र बलभद्र राई ईभन-पार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौँ स्थानमा छन्। भुवनले २-अन्डर ७० र बलभद्रले ईभन-पार ७२ को स्कोर निकाले। आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौँ स्थानमा र समग्रमा २-ओभर १ सय ४६ सहित सञ्जय लामा दशौँ स्थानमा रहे। सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए।
३६ होलको समाप्तिमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन्। जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रमेश अधिकारी, सूर्यप्रसाद शर्मा, पशुपति शर्मा, प्रदीप कुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्ण मान राजबाहेकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन्। यस्तै एमेच्योर गल्फरहरू टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापा मगर र सुरेश तामाङले पनि कट बनाएका छन्।
राष्ट्रिय टिमका सशक्त खेलाडी सद्भावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगीरहित प्रदर्शन गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औँ, ११औँ, १४औँ र १६औँ होलमा चार बर्डीको सफलता प्राप्त गरे। र ५-पारको १२औँ होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा पुरा गरे।
भुवनले सानदार शुरूआत गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा पाँच बर्डी प्रहार गरे। आठौँ होलमा भने एक सट खेर फाले। यसपछि ११औँ र १५औँ होलमा एक-एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।
अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, सातौँ, नवौँ, १०औँ, १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे। तर चौथो, आठौँ, १४औँ र १७औँ होलमा एक-एक सट खेर फाले।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।






-1761584666208.jpeg&w=3840&q=75)


-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)