काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर लिभरकुसेनले कीर्तिमानी जित निकालेको छ । शुक्रबार मेन्जलाई हराउँदै लिभरकुसेनले ३३ खेलमा अपराजित रहने नयाँ कीर्तिमान बनाएको हो ।
जावी अलान्सोको टिमले दोस्रो स्थानको बायर्न म्युनिखसँग ११ अंकको स्पष्ट अग्रता लिएको छ । र लिगको शीर्ष स्थानमा आफुलाई थप बलियो बनाएको छ ।
ग्रानिट जाकाले लिभरकुसेनलाई तेस्रो मिनेटमै सुरुवाती अग्रता दिलाएका थिए । डोमिनिक कोहले मेन्जका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले लामो दुरीबाट प्रहार गरेको बलले जाली चुमेपछि लिभरकुसेन विजयी बनेको हो ।
खेल सकिन १० मिनेट अघि जेसिक नगनकम रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली मेन्ज १० खेलाडीमा सिमित बनेको थियो ।
शीर्ष स्थानको लिभरकुसेनको ६१ अंक भएको छ । दोस्रो स्थानको बायर्न म्युनिखको ५० अंक छ । मेन्ज १५ अंक सहित पुछारदेखि दोस्रोमा छ ।
दोस्रो स्थानको बायर्नले शनिबार एलिनाज एरिनामा आरबी आईपेजिगसँग खेल्नेछ । बायर्न प्रशिक्षक थोमस टुचेलले सिजनको समाप्तिसँगै क्लब छाड्ने घोषणा गरिसकेका छन् ।