काठमाडौं । सेन्ट्रल कलेज फोर ब्रोदर्स राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विभागीय टिम आर्मीलाई हराउँदै फोर ब्रोदर्स प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।
नवलपुरमा बुधबार भएको खेलमा फोर ब्रोदर्सले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्यो ।
खेलमा अग्रता फोर ब्रोदर्सले २२ औं मिनेटमा रञ्जित आलेको गोलमा लिएको थियो । आर्मीका बसन्त खड्काले ५५ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
खेलको ६६ औं मिनेटमा मोहन देवकोटाले आत्मघाति गोल गरेपछि फोर ब्रोदर्स विजयी बनेको हो ।
खेलको म्यान अफ दी म्याच रञ्जित आले घोषणा भए । दोस्रो क्वाटरफाइनलमा बिहीबार एपीएफ र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
राईनो क्लब मध्यबिन्दु नवलपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।