बाँके । कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर ११ र गण्डकी प्रदेश विजयी भएका छन्।
कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।
शनिबारको पहिलो खेलमा कोहलपुर मेयर ११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो।
कोहलपुर मेयर-११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४ दशमलव ५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो।
लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।
कोहलपुरको बलिंगमा रिया शर्माले सर्वाधिक ३ विकेट लिईन्, जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। भवानी कमाती र तृष्णा विश्वकर्माले २,२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १-१ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर ११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो।
कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन्। प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। लुम्बिनीको बलिंगमा सरु तिवारी र एन्जिला पाठकले १-१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन्।
शनिबारको दोश्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित गर्यो। गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ दशमलव ५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४ रन, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन्।
गण्डकी प्रदेशको बलिंगमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चीन्। आकृति तिवारी र सिमाना केसीले २-२ विकेट तथा कुसुम गोदार र निरुता जीटिले १-१ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो।
गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन्। चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन्।
सुदूरपश्चिमको बलिंगमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे। गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो।
खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन्।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो गण्डकी र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्।
सबै टिमले एक अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।