काठमाडौं । एकदिवसीय सिरिजको उपाधि जित्न क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।
नवनीत धालीवाल र आरोन जोनसनले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए ।
दुवैको उत्कृष्ट साझेदारीलाई डेब्यु खेलाडी आकाश चन्दले तोडेका थिए । उनले नवनीतलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए ।
जोनसनले ६५ र नवनीतले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान एक एक विकेट लिए ।
तीन म्याचको सिरिजमा नेपाल १–० ले अघि छ । नेपाल दोस्रो खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ ।
डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज घरेलु मैदानमा खेलेको हो ।