काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
शनिबार मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालको महिला क्रिकेट टिमले हङकङलाई ८ विकेटले हराएको हो ।
हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १४ दशमलव १ ओभरमा पुरा गर्यो ।
नेपालको इनिङ्समा कप्तान इन्दु वर्माले सर्वाधिक ४० रन बनाईन् । सिता राना मगरले नटआउट ३६ रनको योगदान गरिन् । ओपनर कविता कुँवरले ४ रन बनाउँदा रुबिना क्षेत्री शुन्य रनमै नटआउट रहिन् ।
हङकङका इकरा साहर र चान रा मानले समान एक एक विकेट लिए ।
सुरुवातमा ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । चान का याङले सर्वाधिक २१ रन बनाएकी थिईन् ।
नेपालकी पुजा महतो र रुबिना क्षेत्रीले समान दुई दुई विकेट लिए । सिता राना मगर र कबिता जोशीको नाममा एक एक विकेट रह्यो ।
नेपाल प्रतियोगिताको समूह डीमा रहेको छ । जित सहित नेपालले समूहमा दुई अंक जोडेको छ । नेपाल रहेको समूहमा हङकङ, भुटान, माल्दिभ्स छन् । शीर्ष दुई टिमले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।