काठमाडौं । काठमाडौंमा बिहीबार सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनायो ।
ओपनर कुशल भुर्तेलले ६२ रनको इनिङ्स खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन् ।
आसिफ शेख र कप्तान रोहित पौडेललाई समान ८ रनमा गुमाएको नेपालले भिम सार्कीलाई १७ रनमा गुमाएको थियो । कुशल मल्लले २० र आरिफ शेखले ३८ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए ।
पवन सरार्फले १५, सोमपाल कामीले २७, रिजन ढकालले ४ र ललित राजवंशीले १ रन बनाए । सुर्य तामाङ १० रनमा नटआउट रहे ।
नेपालको राष्ट्रिय टिमबाट सुर्य तामाङ र रिजन ढकालले डेब्युको अवसर पाएका थिए ।
क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ तथा साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारेका थिए ।
नेपालले घरेलु मैदानमा क्यानडाविरुद्ध तीन म्याचको एकदिवसीय सिरिज खेल्ने कार्यक्रम रहेको छ । घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडालाई बोलाएर एकदिवसीय सिरिजको आयोजना गरेको हो ।