काठमाडौं । विभागीय टोली नेपाल पुलि क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि शंकर रानाले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्जुन साउदले ३६ रन बनाउँदा अमित श्रेष्ठ २८ तथा आरिफ शेखले २७ रनको योगदान गरे ।
आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, साहब आलम र बसिर अहमदले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।
आर्मीका लागि विवेक यादवले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सोमपाल कामीले ३९ रन बनाउँदा इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन जोडे ।
पुलिसका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए । त्यस्तै सागर ढकाल, करण केशी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।