काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै पुलिस फाइनलमा पुगेको हो ।
मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पुलिसले २४ ओभर २ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि दिलिप नाथले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उअनले ६ चौका र ४ छक्का प्रहार गरे । यसैगरी अर्जुन साउदले ४४ रन बनाउदा आरिफ शेखले २७ रन जोडे ।
गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कमल परियार र कप्तान विपिन खत्रीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७० रनको बनाएको थियो ।
गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान गरे । त्यस्तै किरण पंगेनी र कमल परियारले समान ३० रन बनाउदा समिर कँडेलले २९ रन बनाए ।
पुलिसका लागि राशिद खानले पाँच विकेट लिए । त्यस्तै करण केसी र ललितनारायण राजवंशीले समान दुई-दुई विकेट लिए ।
पुलिसले यो जितसँगै ७ खेलमा १४ अक जोडेको छ ।