काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले २३ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पुलिसका लागि दिलिप नाथले ७५ रनको अर्धशतकीय पारी खेले । उनले ६२ बल खेलेका उने ६ चौका र ४ चौका प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाउँदा दिपेन्द्र एरीले २४ रन बनाए ।
कर्णालीका लागि प्रकाश जैशीले दुई विकेट लिए । त्यस्तै दिवस पुन र दिपेन्द्र रावतले एक–एक विकेट लिए । त्यसअघि कर्णालीले ४२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
कर्णालीका लागि निश्चल रावलले ५० रनको अर्धशतकीय पारी खेले । १०७ बल खेलेका उनले ६ चौका प्रहार गरे ।
त्यस्तै कप्तान रविन्द्र शाहीले ४० रन बनाउँदा अर्जुन घर्तीले २३ रन जोडे ।
पुलिसका लागि सागर ढकालले. तीन विकेट लिँदा ललित भण्डारीले दुई विकेट लिए । त्यस्तै दिपेन्द्र, ललित राजवंशीले र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
जितसँगै पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा छ । बागमती प्रदेश १० अंक सहित दोस्रो स्थानमा छ । पराजित कर्णाली ६ अंक सहित तालिकाको सतौं स्थानमा छ ।