काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले दिएको १२४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभर १ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमका लागि नरेश भट्टले ५४ रनको अर्धशतकीय पारी खेले । ४९ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै प्रकाश पाण्डेले ३४ रन बनाउँदा राजु रिजालले २१ रनको योगदान गरे ।
कोशीका लागि फ्रिदोश अन्सारीले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२३ रन बनायो ।
कोशीका लागि मेनस थापाले २६ रन बनाउँदा कमल खत्री १८, अंकित सुवेदी २२ तथा फ्रिदोश अन्सारीले १३ रन बनाए ।
सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट लिँदा विकास अन्सारीले चार विकेट हात पारे ।