काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागतार तेस्रो खेलमा पराजित भएको छ ।
मंगलबार भएको खेलमा एपीएफ अर्काे विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भएको हो । शिद्धार्थ रंगशालमा एपीएफले दिएको १२२ रनको लक्ष्य पछ्याएको आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै बसिर अहमदले १८ रन बनाउँदा इमरान शेखले १६ रन जोडे ।
एपीएफका लागि रमेश कामीले दुई विकेट लिँदा मौसम ढकाल र रोहित पौड्यलले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ३२ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२१ रन बनायो ।
एपीएफका लागि कप्तान रोहि पौड्यलले ५९ रनको अर्धशतकीय पारी खेले । १०३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे ।
एपीएफका भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सोमपाल कामीले तीन् विकेट लिए । त्यस्तै अविनास कर्णले दुई विकेट लिँदा विवेक यादव, साहव आलम र बसिर अहमदले एक–एक विकेट लिए ।
एपीएफ यसअघि मधेश प्रदेश र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।