काठमाडौं । मयान यादवको शतकको सहयोगमा सुदूरपश्चिम प्रदेशमाथि मधेश प्रदेशले सहज जित हात पारेको छ ।
सोमबार भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको ३२० रनको लक्ष्य पछ्याएको सुदूरले ४४ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र २३९ रन बनायो ।
सुदूरका लागि नरेश भट्टले १२१ रनको शतकीय पारी खेले । १२२ बल खेलेका उनले १३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै नारायण जोशीले २६ रन बनाउँदा किरण ठगुन्ना २० र नरेन साउदले १८ रनको योगदान गरे ।
मधेशका लागि राजेश यादव र प्रदिप पासवानले तीन–तीन विकेट लिए । त्यस्तै रन्जित कुमारले दुई विकेट लिँदा हरिशंकर शाह र पवन सर्राफले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।
मधेशका लागि मयानले ११५ रनको शतकीय पारी खेले । १२८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अनिल शाह र पवन सर्राफले अर्धशतकीय पारी खेल । अनिलले ६९ रनको अर्धशतकीय पारी खेले । ७० बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
पवनले ७० रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
सुदूरका लागि शेर मल्लले चार विकेट लिए । त्यस्तै विकास अगरीले दुई विकेट लिँदा नरायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।