काठमाडौं । बागमती प्रदशेले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य पछ्याएको बागमतीले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीका लागि इसान पाण्डेले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै रविन जोशीले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ कर्णालीका लागि दिपेश पुनले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २४ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७८ रन बनायो ।
कर्णालीका लागि अर्जुन घर्तीले २३ रन बनाए । त्यस्तै निश्चल रावलले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले सर्वाधिक पाँच विकेट लिए । उनले ७ ओभर बलिङ गर्दै २५ रन खर्चे । त्यस्तै क्रिजन गुरुङले दुई विकेट लिँदा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक–एक विकेट लिए ।