काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित हात पारेको छ ।
आइतबार भएको खेलमा पुलिसले आर्मीमाथि १३ रनको जित हात पारेको हो । शिद्धार्थ रंगशालमा पुलिसले दिएको १४१ रनको लक्ष्य पछ्याएको आर्मीले ३२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२७ रन बनायो ।
आर्मीका लागि भिम सार्कीले ५२ रनको अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै कुशल मल्लले ३५ रन बनाउँदा कप्तान विनोद भण्डारीले १९ रन जोडे ।
पुलिसका लागि सागर ढकाल र ललित नारायण राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै राशिद खानले दुई विकेट लिँदा कप्तान दिपेन्द्र सिंह एरीले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि सुनिल धमलालले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ८० बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै आसिफ शेखले १८ रन बनाउँदा दिपेन्द्र र राशिदले १३–१३ रन बनाए ।
आर्मीका लागि सोमपाल कामीले चार विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया र विवेक यादवले दुई–दुई विकेट लिए ।